नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
कास्की


जिल्लाको परिचय

कास्की जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित पर्यटकीय जिल्ला हो। यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खला तथा माछापुच्छ्रे हिमालको काखमा रहेको छ। कास्की जिल्लाको सदरमुकाम पोखरा हो। राजधानी काठमाडौंदेखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो।

जिल्लाको नामाकरण

कास्की जिल्लाको नामाकरणका सम्वन्धमा कश्यप ऋषिको तपोभूमी रहेको यस ठाउँलाई "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप वाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने अर्कोतर्फ प्राकृत खनिज स्रोतको भण्डारलाई "काष" र त्यसबाट "काषकी" हुदै कास्की रहन गएको किंवदन्ति छ। अर्को तर्फ सोह्रौं शताब्दिमा राजा कुलमण्डन शाहबाट शासित यो राज्य वि. सं. १८४२ जेष्ठमा राजा सिद्ध नारायण शाहको राज्यकालमा नेपाल एकीकरणमा गाभिएको पाइन्छ। जिल्लाको मध्यभागमा रहेको कास्कीडाँडा र कास्कीकोटबाट नै कास्की जिल्लाको नाम रहन गएको कुरा नेपाल एकीकरणको सन्दर्भमा निकै प्रचलित शब्द "त्रिशक्ति" मध्येको एउटा राज्य कास्की भएबाट यो भाग ऐतिहासिक भएको पुष्ट्याईं मिल्दछ। भाषाविदहरूका आधारमा गुरूङ्ग तमु भाषामा "कास" भन्नाले कछाड र "शिव" भन्नाले लगाउने अर्थात "कास शिव" कछाड लगाउनेहरू वस्ने ठाउँ शव्दवाट खिइँदै कास्कीको नामाकरण हुन गएको कुरा गुरूङ्ग भाषाविदहरूको भनाई रहेको पाइन्छ। तर ठोस आधार र तर्कहरूको आधारमा प्रमाणिकरण भने हुन सकेको छैन।


जिल्लाको भौगोलिक अवस्था

यस जिल्लाको सम्पूर्ण भूभागलाई सप्तगण्डकी प्रवाह प्रणालीअन्तर्गत सेती गण्डकी, मोदी, मादी र तिनका सहायक नदी र खोलाले प्रवाहित गरेका छन । यो जिल्ला मध्यपहाडी पर्यावरणीय प्रदेशमा परेता पनि जिल्ला भित्रको थुप्रै भूभाग उच्च हिमाली क्षेत्रमा पाइन्छ। यो जिल्लाको आकार वृत्ताकार छ भने फैलाबट करिब ७० किलोमिटरको हवाइ दूरीमा पूर्वपश्चिम एवं उत्तरदक्षिण फैलिएको छ। समुद्र सतहदेखि मादी नदीको किनारमा करिब ४५० मिटर, सेती नदीको कोत्रे स्थित गल्छी करिब ५५० मिटर र मोदी नदीको विरेठाँटी नजीक लगभग ९५० मिटर उचाइमा यस जिल्लाको होंचो भाग अवस्थित छ। उत्तरको अग्लो अन्नपूर्ण श्रृङ्खला संधै हिउँले ढाकी रहन्छ र ११ वटा विभिन्न हिमशिखरहरू ७,००० मिटरभन्दा बढी उचाइका छन। यीमध्ये अन्नपूर्ण प्रथम (,०९१) मिटर यसै जिल्लाको उत्तरपश्चिम सिमानामा पर्छ भने अति मनमोहक कुमारी चुचुरा भर्जिन पिक माछापुच्छ्रे हिमाल(,९९३ मिटर) जिल्लाको उत्तरी मध्यभागमा पर्दछ।

यस जिल्लाले देशको कुल भूभागको २०१७ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ। स्याङ्गजा, तनहुँ, लमजुङ्ग, मनाङ्ग, म्याग्दी र पर्वत जिल्लासँग सिमाना जोडिएको यस जिल्लाको भौगोलिक अवस्थिति २८०५ उत्तरी अक्षांशदेखि २८०३५ उत्तरी अक्षांशसम्म र ८३०४९ पूर्व देशान्तरदेखि ८४०१७ पूर्वी देशान्तरसम्म फैलिएको छ।

उत्तर तर्फको मनमोहक हिमाच्छादित श्रृङ्खला, सेती नदीको गहिरो गल्छी, उपत्यका र तालतलैया यस जिल्लाका आभूषण हुन्। माछापु्च्छ्रे र फेवातालको प्रतिविम्ब जिल्ला पर्यटन व्यवसायका रथी हुन्।


जिल्लाको राजनैतिक बर्गीकरण

यस जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र ४३ गाविस छन। पोखरा पश्चिमाञ्चल विकास क्षेत्र र यस जिल्लाको सदरमुकाम हो र यो उपमहानगर पालिकाको केन्द्र पनि हो । पर्यटन, वाणिज्य, शिक्षा र स्वास्थ्यसम्बन्धी सेवा र सुविधाले सम्पन्न पोखरा शहर नेपाल अधिराज्यकै एक सुन्दर र सफा नगरको रूपमा पहिचान राख्दछ। प्रतिनिधि सभाका लागि यस जिल्लामा चार निर्वाचन क्षेत्र छन ।

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय